२१ असार, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा दिने अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
वर्तमान सरकारका सय दिनको समीक्षा गर्न पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारका मन्त्रीहरूबाट बेला–बेला आउने अभिव्यक्तिले अनावश्यक विवाद सिर्जना गर्ने गरेको बताए।
थापाले प्रदेशको नामजस्ता संवेदनशील विषयमा पर्याप्त अध्ययन र सन्दर्भ नबुझी मन्त्रीहरूले हल्का ढंगले टिप्पणी गर्ने गरेको आरोप लगाए।
उनले भने, “अहिले पनि प्रदेशको नामका विषयमा समस्या र मुद्दाहरू छन्। तर सन्दर्भ नै नबुझी एउटा मन्त्रीले एउटा कुरा बोलिदिन्छ, अर्कोले त्यसमा थपिदिन्छ, अर्कोले खारेज गरिदिन्छ। सरकार सञ्चालन गर्ने दलभित्रकै नेताहरूका फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्।”
सरकार सञ्चालन गर्ने दलका नेताहरूले संविधान निर्माणका क्रममा अपनाइएका संवेदनशीलता र सूक्ष्म पक्षलाई पर्याप्त ध्यान नदिएको पनि उनले बताए।
“संविधान बनाउने बेलाका हाम्रा संवेदनशीलता र सूक्ष्म पक्षहरूलाई सरकार सञ्चालन गर्ने दलका साथीहरूले ख्याल गर्नुभएको छैन। यो पनि चिन्ताको विषय हो,” उनले भने।
थापाले आफूहरू संविधान संशोधनको विपक्षमा नरहेको स्पष्ट पार्दै त्यसका लागि गम्भीर अध्ययन, समीक्षा र तयारी आवश्यक हुने बताए। हचुवाका भरमा अघि बढ्दा यसले विवाद र तनाव निम्त्याउन सक्ने चेतावनी पनि उनले दिए।
उनले भने, “हामी संविधान संशोधन गर्न नहुने भन्ने पक्षमा होइनौँ। संशोधन र पुनरावलोकन आवश्यक छ। तर यसरी हचुवाको भरमा होइन। यसरी अघि बढ्दा एकैछिनमा आगो बल्न सक्छ।”
उनका अनुसार अधिकार, भाषा र समावेशिताजस्ता विषय सामान्य अवस्थामा गौण देखिए पनि ती विषय उठेपछि अत्यन्त संवेदनशील र महत्वपूर्ण बन्ने गर्छन्।
थापाले नेपालको विविधतालाई सम्बोधन गर्ने विषयलाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिँदै यस्ता विषयमा जथाभावी अभिव्यक्ति दिन नहुने बताए।
“हाम्रा विविधतालाई सम्बोधन गर्ने विषय सबैभन्दा महत्वपूर्ण हो। तर यी विषयलाई निकै हल्का, म त भन्छु लफङ्गो पाराले, जे मन लाग्यो त्यही बोल्ने र गर्ने प्रवृत्ति देखिएको छ। यो अर्को चिन्ताको विषय हो,” उनले भने।



