२२ असार, काठमाडौं — एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्।
आइतबार राति १० बजे काठमाडौं आइपुगेका कान्डालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वागत गरेका थिए।
अर्थ मन्त्रालय स्रोतका अनुसार सोमबार र मंगलबार नेपालमा रहने कान्डाले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाह बनेपछि विदेशी पाहुनासँग हुने यो पहिलो औपचारिक भेट हुनेछ। संसारकै ठूलो बहुपक्षीय बैंक मानिने एसियाली विकास बैंकका अध्यक्षलाई सरकार प्रमुखसरहको मर्यादा दिने प्रचलन रहेको छ। गत महिना बंगलादेश भ्रमणका क्रममा पनि एडीबी अध्यक्षलाई त्यहाँका अर्थमन्त्रीले विमानस्थलमा स्वागत गरेका थिए।
नेपाल भ्रमणका क्रममा कान्डाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित उच्चपदस्थ सरकारी अधिकारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। अर्थमन्त्री वाग्लेले सोमबार दिउँसो ३ बजे कान्डासँग भेट गर्नेछन्।
कान्डाले एडीबीको सहयोगमा सञ्चालन भएका विभिन्न विकास आयोजनाको स्थलगत अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ।
यसैबीच, उनको नेपाल भ्रमणका क्रममा भन्सार तथा पारवहन र खानेपानी तथा ढलनिकाससम्बन्धी दुई सहयोग सम्झौतामा हस्ताक्षर हुने तयारी रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।



