Skip to main content

Epost Nepal

थ्रीजी सेवा बन्द गर्ने तयारीमा नेपाल टेलिकम र एनसेल

काठमाडौं, २४ असार — नेपाल टेलिकम र एनसेलले चरणबद्ध रूपमा थ्रीजी (3G) सेवा बन्द गर्ने तयारी गरेका छन्।

दुवै कम्पनीका अनुसार पुरानो प्रविधिलाई हटाएर फोरजी (4G) सेवाको विस्तार गर्ने तथा भविष्यमा फाइभजी (5G) सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्न थ्रीजी सेवा बन्द गर्न लागिएको हो।

विश्वभर पनि पुराना मोबाइल प्रविधिलाई क्रमशः विस्थापन गर्दै उच्च क्षमतायुक्त नेटवर्कमा लगानी बढाउने प्रवृत्ति बढिरहेको छ। थ्रीजी सेवा बन्द भएपछि टेलिकम कम्पनीहरूले टुजी (2G) र फोरजी (4G) सेवा सञ्चालनमा राख्नेछन् भने भविष्यमा फाइभजी सेवा विस्तारको तयारीसमेत गरिरहेका छन्।

दूरसञ्चार क्षेत्रका सरोकारवालाका अनुसार अहिलेको आवश्यकताअनुसार थ्रीजी प्रविधि कम प्रभावकारी बन्दै गएको छ। फोरजीको तुलनामा थ्रीजीले कम ब्यान्डविथ उपलब्ध गराउने, डाटा तथा भ्वाइस सेवाको गुणस्तर पनि सीमित हुने भएकाले अधिकांश सेवा प्रदायकले फोरजी नेटवर्कमा प्राथमिकता दिन थालेका छन्।

थ्रीजी सेवा बन्द भएपछि खाली हुने स्पेक्ट्रम र नेटवर्क स्रोतलाई फोरजी सेवाको क्षमता विस्तार, ‘भ्वाइस ओभर लङ टर्म इभोल्युसन’ (भोल्टे) सेवाको गुणस्तर सुधार तथा भविष्यमा फाइभजी सञ्चालनका लागि प्रयोग गरिने कम्पनीहरूको भनाइ छ। यसबाट ग्राहकले अझ तीव्र गतिको इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा र स्थिर नेटवर्कको सुविधा पाउने बताइएको छ।

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार नेपाल मात्र होइन, विश्वका अधिकांश देशका टेलिकम सेवा प्रदायकले पनि थ्रीजी सेवा हटाउने क्रमलाई अघि बढाएका छन्।

उनले नेपाल टेलिकमले आगामी आर्थिक वर्ष २०८३/८४ भित्र थ्रीजी सेवा पूर्ण रूपमा हटाउने तयारी गरिरहेको जानकारी दिए।

उनका अनुसार नेपाल टेलिकमका थ्रीजी सेवा सञ्चालन गरिरहेका तीन हजारभन्दा बढी बिटिएस टावरमध्ये केही हटाउने काम सुरु भइसकेको छ। चितवनमा छुट्टै क्लष्टर बनाएर परीक्षण भइरहेको र त्यसको नतिजाका आधारमा देशभर थ्रीजी सेवा हटाउने प्रक्रिया अघि बढाइने उनले बताए।

थ्रीजी हटेपछि ग्राहकले फोरजी सेवा प्रयोग गर्न सक्नेछन्। भ्वाइस सेवाका लागि टुजी पर्याप्त हुने तथा डाटा र भ्वाइस दुवै प्रयोग गर्ने ग्राहकले फोरजीको भोल्टे सेवा प्रयोग गर्न सक्ने उनले बताए। यसले डाटा र भ्वाइस दुवै सेवाको गुणस्तर सुधार गर्ने उनको भनाइ छ।

हाल नेपाल टेलिकमले २१०० मेगाहर्ज ब्यान्डमा थ्रीजी सेवा सञ्चालन गरिरहेको छ। कम्पनीले ७६० स्थानीय तहमा फोरजी सेवा विस्तार गरिसकेको छ भने आगामी दिनमा सबै स्थानीय तहमा फोरजी सेवा पुर्‍याएर यसको गुणस्तर सुधार गर्ने तयारी गरिरहेको जनाएको छ।

यता निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले असार २२ गते सोमबारदेखि पाँच प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहमा रहेका २२० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गरिएको जनाएको छ। यसअघि पनि कम्पनीले कोशी प्रदेशका केही स्थानीय तहमा थ्रीजी सेवा बन्द गरिसकेको थियो।

एनसेलका अनुसार यस चरणमा कोशी प्रदेशअन्तर्गत उदयपुरका त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी, सङ्खुवासभाका खाँदबारी, चैनपुर र धर्मदेवी, धनकुटाका पाख्रीबास र साँगुरीगढी तथा भोजपुरका टेम्केमैयुङ र अरुणलगायतका स्थानीय तहमा थ्रीजी सेवा बन्द हुनेछ।

त्यसैगरी मधेस प्रदेशको सप्तरी जिल्लाका सप्तकोशी र कञ्चनरूप, कर्णाली प्रदेशका रुकुम पश्चिमका चौरजहारी, मुसिकोट र त्रिवेणी तथा सल्यानका शारदा, छत्रेश्वरी र बागचौरमा पनि थ्रीजी सेवा बन्द गरिनेछ।

यसैगरी लुम्बिनी प्रदेशअन्तर्गत रुकुम पूर्वका सिस्ने र भूमे, रोल्पाका थबाङ र गंगादेवलगायतका क्षेत्र तथा बागमती प्रदेशको मकवानपुरका हेटौँडा, बकैया, मनहरी र राक्सिराङमा पनि थ्रीजी सेवा बन्द गरिने कम्पनीले जनाएको छ।

एनसेलकी नेटवर्क प्रमुख लेना केशरी कंसाकारका अनुसार नयाँ प्रविधि अपनाउने र सेवाको गुणस्तर निरन्तर सुधार गर्ने प्रतिबद्धताअनुसार कम्पनीले थ्रीजी सेवा बन्द गर्न लागेको हो।

उनका अनुसार एनसेलका एक करोड ४१ लाख सक्रिय ग्राहकमध्ये ०.७ प्रतिशतले मात्रै थ्रीजी सेवा प्रयोग गरिरहेका छन्। कम्पनीले सन् २०२७ को पहिलो तीन महिनाभित्र देशभर थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने लक्ष्य राखेको छ।

थ्रीजी सेवा बन्द भएपछि पनि ग्राहकले टुजी र फोरजी नेटवर्कमार्फत भ्वाइस सेवा प्रयोग गर्न सक्नेछन्। हाल थ्रीजीमार्फत उपलब्ध हुँदै आएको भ्वाइस सेवा फोरजीमा आधारित भोल्टे सेवामार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

थ्रीजी सेवा बन्द गर्ने तयारीमा नेपाल टेलिकम र एनसेल

थ्रीजी सेवा बन्द गर्ने तयारीमा नेपाल टेलिकम र एनसेल

काठमाडौं, २४ असार — नेपाल टेलिकम र एनसेलले चरणबद्ध रूपमा थ्रीजी (3G) सेवा बन्द गर्ने तयारी गरेका छन्। दुवै कम्पनीका अनुसार पुरानो...
मनसुनी प्रभाव बढ्यो, मधेशदेखि गण्डकीसम्म वर्षाको जोखिम

मनसुनी प्रभाव बढ्यो, मधेशदेखि गण्डकीसम्म वर्षाको जोखिम

२४ असार, काठमाडौं — देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका ...
‘कर्णाली नेपालमै हो कि होइन?’ भन्दै सरकारसँग शाहीको प्रश्न

‘कर्णाली नेपालमै हो कि होइन?’ भन्दै सरकारसँग शाहीको प्रश्न

२२ असार, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णाली बस दुर्घटनाका बेला मन्त्...
एडीबी अध्यक्ष मासातो कान्डा नेपालमा, उच्चस्तरीय भेटवार्ताको तयारी

एडीबी अध्यक्ष मासातो कान्डा नेपालमा, उच्चस्तरीय भेटवार्ताको तयारी

२२ असार, काठमाडौं — एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्। आइतबार रात...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search