२४ असार, काठमाडौं — देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागमा सरदरभन्दा दक्षिणतर्फ र पश्चिमी भागमा भने सरदर स्थानकै आसपास रहेको छ।
महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ। अहिले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम खालको वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेश प्रदेशका विभिन्न स्थान तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा हुरीबतास चल्न सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका धेरै स्थानमा, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ।
यसबाहेक मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भएमा भारी वर्षा र १०० देखि २०० मिलिमिटरसम्म वर्षा भएमा धेरै भारी वर्षा मानिने उल्लेख गरिएको छ।
विशेषगरी कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थान तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन महाशाखाले आग्रह गरेको छ।



