२६ साउन, काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सक्षम र सबल बनाउन शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकमा वैचारिक, राजनीतिक र सांगठानिक विषयमा धारणा राख्दै दाहालले संसदीय परिपाटीबाट प्रदूषित भएको भन्दै शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
‘विभिन्न कारणले हाम्रो वर्गसँग सम्बन्ध टुटेको छ। संसदीय अभ्यासका क्रममा हामी कहीँ न कहीँ प्रदूषित भएका छौं । देशको राजनीतिक परिस्थिति जटिल बन्दै गएको बेला लोकतन्त्र र जनताको जनजीविका खतरामा परिरहेका बेला पार्टी सबल हुनुपर्छ । त्यसका लागि शुद्धीकरण अभियान जरुरी छ,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै पार्टी प्रवक्ता अग्नि सापकोटाले भने ।
बैठकमा दाहालले विगतका अनुभवको अध्ययन गर्दै नयाँ बहसमा ध्यान दिनुपर्ने र नयाँ वैचारिक संश्लेषण गर्दै पार्टीलाई नयाँ ढंगले सुदृढीकरण गर्नुपर्ने धारणा राखेका थिए । उनले स्पष्ट नीति, योजना नयाँ कार्यक्रमसहित जनतामा जानुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले बताए ।



