२५ साउन, काठमाडौँ – भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् ।
शुक्रबार नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले विदेश सचिव मिस्रीको नेपाल भ्रमणको औपचारिक रुपमा घोषणा गरेका हुन् ।
नेपालका परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा विदेश सचिव मिस्रीले साउन २७ र २८ गते नेपालको औपचारिक भ्रमण गर्दैछन् । विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो भने नेपालमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि भारतबाट पहिलो भ्रमण हुन लागेको हो ।
परराष्ट्र मन्त्रालय विज्ञप्ति जारी गर्दै दुई सचिवहरुले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने र संयुक्त लाभ हुने विषयमा सहकार्य गर्दै अघि बढ्नेलगायत विभिन्न पक्षहरुमा कुराकानी गर्ने उल्लेख गरेको छ । साथै, भारतीय विदेश सचिवले उच्चस्तरीय भेटवार्ता गर्ने पनि बताइएको छ ।
उनले नेपालमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ भने परराष्ट्र सचिव लम्सालसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।
भारतीय विदेश मन्त्रालयका अनुसार सचिव मिस्रीको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदान–प्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने उल्लेख छ ।



