२४ भदौ, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौ २४ गतेलाई कहाली लाग्दो विध्वंस भएको दिनका रूपमा स्मरण गरेका छन्।
भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘गत वर्ष आजकै दिन राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि सर्वाधिक ठूलो आक्रमण र विध्वंस भएको थियो।’
गत वर्ष भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो। भदौ २४ गते सरकारी तथा निजी सम्पत्तिमाथि व्यापक तोडफोड र आगजनी भएको थियो। एमाले अध्यक्ष ओलीले उक्त घटनालाई विध्वंसका रूपमा उल्लेख गरेका छन्।
दुःखद घटनाको एक वर्ष पूरा भएको उल्लेख गर्दै उनले गत वर्ष भदौ २३ गतेको प्रदर्शनपछिको घटनाक्रममा ज्यान गुमाएका नवयुवाहरू तथा कर्तव्यपालनका क्रममा आपराधिक तत्वको आक्रमणमा मारिएका प्रहरी जवानप्रति नेकपा एमाले र आफ्नो व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
उनले उपचाररत घाइतेहरूको पूर्ण स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
‘त्यस कहालीलाग्दो विध्वंसपछि पुनरुत्थानको प्रयासमा रहनुभएका व्यवसायी एवं महानुभावहरूमा शुभेच्छा व्यक्त गर्दछु,’ उनले भनेका छन्।
अध्यक्ष ओलीका अनुसार लोकतन्त्रमा नागरिकले आफ्ना अपेक्षा, असन्तुष्टि र मागहरू शान्तिपूर्ण रूपमा राख्नु स्वाभाविक हो। नेपालको संविधानले पनि वाक् स्वतन्त्रता र शान्तिपूर्ण विरोधको अधिकार सुनिश्चित गरेको उनले बताएका छन्।
‘तर गत वर्ष नवयुवाहरूले सुशासन र सामाजिक सञ्जालका विषयमा गरेको शान्तिपूर्ण प्रदर्शनभित्र घुसपैठ गरी आपराधिक समूहहरूले योजनाबद्ध रूपमा हिंसा भड्काए,’ अध्यक्ष ओलीले भनेका छन्, ‘संसद् भवनमा आक्रमण गर्दै दुरुत्साहन गरे। नवयुवाहरूलाई षड्यन्त्रपूर्वक घेरेर संसद् भवनअगाडि लगियो र छद्म ढंगले कसैले गोली चलायो।’
यस क्रममा १७ जनाको अमूल्य जीवन त्यहीँ अन्त्य भएको उनले स्मरण गरेका छन्।
शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरी उक्त दुःखद अवस्था सिर्जना गर्ने तत्वहरूको उद्देश्य फरक रहेको उनको भनाइ छ।
‘भोलिपल्ट राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, पार्टी कार्यालयहरू तथा निजी र सार्वजनिक सम्पत्तिलगायतमाथि जुन स्तरको तोडफोड, लुटपाट, आगजनी र मानवीय क्षति गरियो, त्यो अघिल्लो दिनको मानवीय क्षतिको आवेग मात्र थिएन,’ उनले भनेका छन्।