Skip to main content

Epost Nepal

सिंहदरबारमा सरकार र मिटरब्याज पीडितबीच अन्तिम वार्ता

१ साउन, काठमाडौं — सरकार र आन्दोलनरत मिटरब्याज पीडित पक्षबीच अन्तिम चरणको निर्णायक वार्ता जारी छ। वार्ता सम्पन्न भएपछि दुवै पक्षबीच लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ।

सिंहदरबारमा भइरहेको वार्तामा सरकारी टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्यका रूपमा सहभागी छन्।

मिटरब्याज पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरेका छन्। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार तथा कैलालीका निर्गराज जैसी सदस्य रहेका छन्।

यसअघि बुधबार पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्षबीच विस्तृत छलफल भएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार सोही छलफलमा भएका सहमतिलाई आधार बनाएर आज अन्तिम सम्झौताका लागि तयारी गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *