Skip to main content

Epost Nepal

नेपालले थप ६ हिमाललाई ८ हजार मिटर अग्लो मान्यता दिलाउन प्रस्ताव राख्यो

१३ कात्तिक, काठमाडौं — नेपाल विश्वकै सर्वोच्च शिखर सगरमाथाको देशका रूपमा परिचित छ। हाल नेपालका आठवटा हिमालले ८ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय मान्यता पाएका छन्।

नेपालका थप ६ वटा हिमाललाई पनि ८ हजार मिटरभन्दा अग्ला छुट्टाछुट्टै हिमालका रूपमा मान्यता दिलाउन औपचारिक पहल गरिएको छ।

काठमाडौंमा जारी दुईदिने अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को महासभाको उद्घाटन सत्रमा नेपालले विश्व पर्वतारोहण समुदायसमक्ष आफ्नो प्रस्ताव प्रस्तुत गरेको हो।

नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर्वा गेल्जे शेर्पाले ती ६ हिमालको विवरणसहित तिनलाई छुट्टाछुट्टै ८ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा मान्यता दिनुपर्ने आधार समेटिएको अध्ययन प्रतिवेदन महासभामा प्रस्तुत गरेका थिए।

शेर्पाका अनुसार प्रस्तावित हिमालमध्ये यालुङ काङको उचाइ ८ हजार ५०५ मिटर, कञ्चनजङ्घा दक्षिणको ८ हजार ४७६ मिटर, कञ्चनजङ्घा मध्यको ८ हजार ४७३ मिटर, ल्होत्से मध्यको ८ हजार ४१० मिटर, ल्होत्से शारको ८ हजार ४०० मिटर र यालुङ काङ पश्चिमको ८ हजार ७७ मिटर रहेको छ।

एनएमएले ती हिमालको पहिचान र उचाइ मापनका लागि अध्ययन टोली गठन गरेको थियो। टोलीले हिमालहरूको भौगोलिक पहिचान, छुट्टाछुट्टै चुचुरा र अलग-अलग आरोहण मार्ग रहेको प्रमाण संकलन गरेको अध्यक्ष शेर्पाले जानकारी दिए।

यी ६ वटै हिमालले अन्तर्राष्ट्रिय मान्यता पाएमा नेपालमा मान्यताप्राप्त ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ पुग्नेछ। त्यसैगरी, विश्वभर यस्ता हिमालको संख्या २० पुग्नेछ।

महासभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विश्वका ८ हजार मिटरभन्दा अग्ला २० हिमालमध्ये १४ वटा नेपालमा रहेको पहिचान स्थापित हुनु आफैंमा महत्वपूर्ण उपलब्धि हुने बताए।

उनका अनुसार यसले नेपाललाई विश्वका अग्ला हिमालहरूको प्रमुख केन्द्रका रूपमा थप स्थापित गर्नुका साथै पर्वतारोहण, साहसिक पर्यटन, अनुसन्धान, हिमाली अर्थतन्त्र र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका नयाँ सम्भावना खोल्नेछ।

‘नेपालको प्रस्ताव केवल हिमालको संख्या थप्ने विषय मात्र होइन,’ पौडेलले फेसबुकमा लेखेका छन्, ‘यो हाम्रो हिमाली भूगोल, प्राकृतिक सम्पदा र पर्वतीय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष तथ्य, अध्ययन र वैज्ञानिक आधारसहित स्थापित गर्ने प्रयास पनि हो।’

महासभामा ४५ देशका ९५ जना प्रतिनिधि सहभागी छन्। यसअघि नेपालमा सन् १९८२ र २०११ मा पनि महासभा आयोजना भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *