३१ असार, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम अघि बढाएको बताएका छन्। साथै, होटल व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएका चिन्ताहरू क्रमशः समाधान हुने विश्वास पनि व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा उनले निजी क्षेत्रलाई राज्यको महत्वपूर्ण साझेदारका रूपमा अघि बढ्न आग्रह गरे।
प्रधानमन्त्री शाहले व्यवसायीलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न सुझाव दिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा भएको छलफलमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराए।
हाल नेपालमा वार्षिक करिब १२ लाख पर्यटक मात्र भित्रिरहेको उल्लेख गर्दै उनीहरूले पर्यटक संख्या बढेमा रोजगारीका अवसर उल्लेखनीय रूपमा वृद्धि हुने र नेपाली युवाको वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन होटल उद्योगले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।
उनीहरूले नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) र सीमापार (क्रस–बोर्डर) पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै सरकारसमक्ष विभिन्न नीतिगत माग पनि राखे।
हानले होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन माग गरेको छ। साथै, २५ शय्यासम्मका साना तथा मझौला होटलका लागि आवश्यक संक्षिप्त वातावरणीय मूल्यांकनको सीमा बढाएर ५० शय्यासम्म पुर्याउन पनि आग्रह गरेको छ।
त्यसैगरी, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन तथा नेपाल एयरलाइन्सको सेवा सुधार गर्न पनि व्यवसायीहरूले सरकारसँग अनुरोध गरेका छन्।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अन्तर्गत ट्रेडमार्क प्रयोगबापत रोयल्टी वा शुल्क कुल बिक्री मूल्यको ५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था संशोधन गरी आपसी सहमतिमा शुल्क निर्धारण गर्न सकिने प्रावधान बनाउन पनि हानले आग्रह गरेको छ। साथै, होटल व्यवसायसँग सम्बन्धित अन्य कानुनको पुनरावलोकन र संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
यसका अतिरिक्त, डेस्टिनेसन वेडिङका लागि गरगहना ल्याउने प्रक्रिया सहज बनाउन तथा आरोग्य पर्यटन प्रवर्द्धनका लागि फोटो–भिडियोमा मात्र सीमित नरही ‘फुल स्टोरी टेलिङ’ सहितको प्रचार सामग्री र आवश्यक विज्ञको व्यवस्था गर्न पनि हानले सरकारसँग माग गरेको छ।
छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा हान सचिवालयका प्रमुख टेकबहादुर महत सहभागी थिए।