Skip to main content

Epost Nepal

नेपालबाट सिमेन्ट र क्लिंकर निर्यातमा वृद्धि

१८ पुस, काठमाडौं — चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालबाट १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ। भन्सार विभागका अनुसार यस अवधिमा कुल ६ लाख ६ सय ८७ टन सिमेन्ट र क्लिंकर विदेश पठाइएको हो।

गत आर्थिक वर्षको समान अवधिमा १ अर्ब ४ करोड रुपैयाँ बराबरको ६ लाख ९९ हजार ५१० टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो। यस वर्षको पाँच महिनामा क्लिकंर निर्यात २९ करोड ९७ लाख रुपैयाँको र सिमेन्ट ८९ करोड ६६ लाख रुपैयाँको भएको विभागले जनाएको छ।

सम्पूर्ण गत आर्थिक वर्षमा नेपालले २ अर्ब ९१ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको थियो। यसमा सिमेन्ट २ अर्ब २१ करोड रुपैयाँ र क्लिंकर ६९ करोड ७३ लाख रुपैयाँ बराबरको रहेको थियो।

भन्सार विभागका तथ्यांकअनुसार नेपालबाट निर्यात हुने सिमेन्ट र क्लिंकरको मुख्य गन्तव्य भारत हो। नेपालले सिमेन्ट र क्लिंकर निर्यात ०६९/७० मा सुरु गरेको थियो, तर त्यसपछि लगातार तीन वर्षसम्म निरन्तरता दिन सकिएन।

०७०/७१ मा ५ लाख ४५ हजार १५० किलो सिमेन्ट ५६ लाख ५९ हजार रुपैयाँ बराबर निर्यात भएको थियो भने ०७१/७२ मा केवल ५ हजार ५२५ किलो सिमेन्ट ६० हजार २ सय रुपैयाँ बराबर मात्र निर्यात भएको थियो।

आर्थिक वर्ष ०७८/७९ बाट सिमेन्ट निर्यात फेरि सुरु भएको हो। ०७८/७९ मा १५ हजार १ सय ८९ टन सिमेन्ट १२ लाख ९३ हजार रुपैयाँ बराबर निर्यात भएको थियो भने ०७७/७८ मा ११ टन सिमेन्ट ८३ हजार रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ।

हाल नेपालमा कुल ६५ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *