Skip to main content

Epost Nepal

चार महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो

२९ मंसिर, काठमाडौं — चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक) मा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स मुलुकमा भित्रिएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.४ प्रतिशतले बढी हो। गत वर्ष पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढेको थियो।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ०८२ कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षको कात्तिकमा १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो।

राष्ट्र बैंकको चार महिनाको मासिक प्रतिवेदनमा भनिएको छ, ‘गएको चार महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ। गत वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो।’

चार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या बढेकाले रेमिट्यान्स आप्रवाह पनि बढेको हो। यस अवधिमा १ लाख ४५ हजार ९ सय ७३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २७ हजार ८ सय ३७ रहेको छ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा १ लाख ४७ हजार ४ सय ७८ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए भने ९४ हजार १ सय ५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *