१६ मंसिर, काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा भएको घटनाको जिम्मा तत्कालीन सरकारले लिनुपर्ने बताएका छिन l सो समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए।
कान्तिपुर टेलिभिजनको ‘फायर साइड’ कार्यक्रमसँगको अन्तर्वार्तामा एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले सरकारको नेतृत्वमा रहेका ओलीले नै उक्त घटनाको जिम्मेवारी स्वीकार गर्नुपर्ने टिप्पणी गरेकी हुन्।
उनले भनिन्, “त्यो समय सरकार कसको थियो ? घटना त्यही सरकारले चलाइरहेका बेला भएको हो। प्राकृतिक प्रकोप हुँदा पनि सरकारलाई नै व्यवस्थापन न गर्नुभएको भनेर दोष लाग्छ। यहाँ त विद्यार्थीहरूको जुलुसमा सुरक्षा व्यवस्था पर्याप्त नहुँदा ठूलो दुर्घटना भयो। एउटै घटनामा २२ जना ज्यान जानु हाम्रो इतिहासकै अत्यन्तै दुःखद घटना हो। त्यसैले तत्कालीन सरकारले अपजस त भोग्छ नै, जिम्मेवारी पनि लिनुपर्छ।”
भण्डारीका अनुसार राजनीतिक नेतृत्वको सीधा दोष कति हुन्छ भन्ने छुट्टै बहसको विषय भए पनि नैतिक जिम्मेवारी भने सरकारकै हुन्छ।
उनले थप भनिन्, “२३ गतेको घटनाको नैतिक जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ। कुनै पनि जिम्मेवार पदमा बसेको व्यक्तिको मातहतमा यस्तो घटना भयो भने नैतिक रूपमा त्यो जिम्मा लिनैपर्छ। अभिभावकको भूमिकामा सरकारको नेतृत्वले पनि त्यसलाई स्वीकार गर्नुपर्छ।”
उनले घटनामा सुरक्षा परिचालन कत्तिको प्रभावकारी थियो, सूचना प्रवाह भए–नभएको, र कमजोरी कहाँ भयो भनेर छानबिन आवश्यक रहेको उल्लेख गरिन्।
उनका अनुसार, “सत्यतथ्य बाहिर आउन अनुसन्धान आवश्यक छ। तर यस्तो ठूलो घटना हुँदा नैतिक जिम्मेवारी त स्वतः आउँछ—लिइए वा नलिइए पनि समाजले त्यसलाई भन्छ।”
भदौ २३ मा संसद भवन अगाडि जेनजी प्रदर्शनमा गोली प्रहार हुँदा १९ जनाको मृत्यु भएको थियो। सोही दिन घाइते भएकामध्ये ४ जनाको अस्पतालमा उपचारका क्रममा निधन भयो। भदौ २४ सम्म पुग्दा प्रदर्शनसँग सम्बन्धित कुल मृत्यु संख्या ७६ पुगेको थियो।