Skip to main content

Epost Nepal

प्रधानमन्त्री ओली: राजनीतिक दल फुटाउने कुनै मनसाय छैन

२९ पुस, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई आवश्यक परे सच्याउन सकिने भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो जिम्मेवारी नभएको स्पष्ट पारेका छन्।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई आज बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनी गलत प्रचार भएकोमा चिन्ता व्यक्त गरे। उनले दल मिल्ने वा फुट्ने विषय ती दलको आन्तरिक मामिला भएको स्पष्ट गरे।

प्रधानमन्त्री ओलीले विगतमा संविधानले दल विभाजनका लागि संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत समर्थन आवश्यक पर्ने व्यवस्था गर्दा कठिनाइ भएको स्मरण गरे। त्यसलाई संशोधन गरी कुनै एक पक्षमा ४० प्रतिशत समर्थन पुर्‍याउने प्रावधानसहित अध्यादेश ल्याइएको भए पनि त्यसबेला विरोधपछि फिर्ता लिइएको उनले बताए।

उनले विगतमा २० प्रतिशत सांसदले विभाजन गर्न पाउने प्रावधान ल्याएर दल विभाजन गराउनेहरूले अहिले अध्यादेशको विरोध गरिरहेको भन्दै आलोचना गरे। “मेरो कुनै पनि दल फुटाउने वा मिलाउने मनसाय छैन,” प्रधानमन्त्रीले प्रष्ट्याए।

देश विकास र जनसेवाका लागि सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यसको विरोध गरेको भन्ने गलत प्रचारबारे सचेत गराए। उनले यस्ता झुठा प्रचार र गलत सूचनाले लोकतन्त्रको दुरुपयोग गर्न सक्ने भन्दै पत्रकार महासंघले सत्यको पक्षमा उभिनुपर्नेमा जोड दिए।

“हामी रातदिन नभनी काम गरिरहेका छौं,” उनले भने, “देशको हितमा खुलेआम काम गर्ने हो। राम्रो काम राति गर्न नहुने कुनै नियम छैन।” प्रधानमन्त्री ओलीले मुलुक र जनताको हितका लागि आफूहरू प्रतिबद्ध रहेको बताउँदै कुनै काम लुकाएर वा छलछाम गरेर नगर्ने धारणा व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *