Skip to main content

Epost Nepal

सहकारी संस्था ठगी प्रकरण: लेखा समिति सभापति पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर

२८ मङ्सिर, मोरङ – मोरङको धनपालथान गाउँपालिका-३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालय मोरङले पोखरेलकी पत्नी कोइरालासहित २६ जनाविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।

सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४ घर भई विराटनगरको शान्ति चोकबस्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको छ ।

यसैगरी सञ्चालक समिति सदस्य जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर, लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलगायत २६ जनालाई सहकारी ऐन २०७४ को दफा १२२ अनुसार प्रतिवादी बनाएको हो ।

लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । कार्यकर्ताले खोलेको सहकारीको सञ्चालकमा पोखरेलले नै पत्नीको नाम राखेका थिए । शिक्षण पेशामा आवद्ध कोइराला सहकारीको सदस्य हुँदा सहकारीले लघुवित्तबाट ऋण लिने निर्णय गरेको थियो ।

उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *