१४ असार, काठमाडौं — फिफा विश्वकप २०२६ को समूह चरणमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसहित तीन खेलाडीले ह्याट्रिक गरेका छन्।
अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा सोमबार बिहान समूह चरणका सबै खेल सम्पन्न भएका हुन्।
समूह चरणमा मेसीसँगै क्यानाडाका जोनाथान डेभिड र फ्रान्सका उसमान डेम्बेलेले पनि ह्याट्रिक गरेका छन्।
मेसीले समूह जे अन्तर्गतको पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका थिए।
त्यसपछि अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने। जोर्डनविरुद्धको तेस्रो खेलमा भने बेन्चबाट मैदान प्रवेश गरेका मेसीले दोस्रो हाफमा गोल गरे। यस विश्वकपमा उनले ६ गोल गरिसकेका छन् र सर्वाधिक गोलकर्ताको सूचीमा एक्लै शीर्ष स्थानमा रहँदै गोल्डेन बुटका प्रमुख दाबेदार बनेका छन्। दुई पटक उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जितिसकेका मेसीले भने अहिलेसम्म गोल्डेन बुट जित्न सकेका छैनन्।
जोर्डनविरुद्धको गोलसँगै मेसीको विश्वकप गोल संख्या १९ पुगेको छ। साथै उनले अर्को ऐतिहासिक कीर्तिमान पनि बनाएका छन्। उनी विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। सन् २०२२ विश्वकपका अन्तिम चार खेलमा लगातार गोल गरेका मेसीले यस संस्करणको समूह चरणका तीनवटै खेलमा पनि गोल गरेका हुन्।
यस्तै, क्यानाडाका जोनाथान डेभिडले कतारविरुद्ध तथा फ्रान्सका उसमान डेम्बेलेले नर्वेविरुद्ध ह्याट्रिक गरेका थिए।
सर्वाधिक गोलकर्ताको सूचीमा मेसीलाई पछ्याउने खेलाडीमा फ्रान्सका कप्तान किलियन एमबाप्पे, उसमान डेम्बेले, ब्राजिलका भिनिसियस जुनियर र नर्वेका एर्लिङ हालान्ड छन्। चारै जनाले समान ४–४ गोल गरेका छन्। हालान्डले सुरुआती दुई खेलमा दुई-दुई गोल गरे पनि फ्रान्सविरुद्धको अन्तिम समूह खेल खेलेनन्।
एमबाप्पेले पनि पहिलो दुई खेलमा गोल गरेपछि नर्वेविरुद्ध भने गोल गर्न सकेनन्। सोही खेलमा डेम्बेलेले ह्याट्रिक गरेका थिए। एमबाप्पेको नाममा दुई असिस्ट पनि रहेकाले गोल्डेन बुटको प्रतिस्पर्धामा उनलाई केही फाइदा छ। सन् २०२२ मा कतारमा भएको विश्वकपमा एमबाप्पेले फाइनलमा ह्याट्रिकसहित कुल ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए।
ब्राजिलका भिनिसियस जुनियरले समूह चरणका तीनवटै खेलमा गोल गरेका छन्। उनी विश्वकपको समूह चरणका तीनवटै खेलमा गोल गर्ने पाँचौं ब्राजिलियन खेलाडी बनेका छन्। साथै, तीनै खेलमा उनी प्लेअर अफ दि म्याच पनि घोषित भएका थिए।
यी पाँच खेलाडीबाहेक जर्मनीका डेनिस उन्डाभले ३ गोल गरेका छन्। सुपर सबका रूपमा मैदान प्रवेश गर्दै उनले दुई खेलमा गोल गर्नुका साथै दुई असिस्ट पनि गरेका छन्। यस्तै, यस विश्वकपमा स्वीडेनका अलेक्जान्डर इसाकले सर्वाधिक ३ असिस्ट दिएका छन्।



