१८ असार, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतका सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्ने प्रयास गरेको र आफूविरुद्ध पनि त्यस्तो प्रयास भएको दाबी गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि राजनीतिक अभिष्ट पूरा गर्न सम्पत्ति शुद्धीकरणको कानुन प्रयोग गरिएको आरोप लगाए। साथै, आफूलाई पनि त्यसैगरी निशाना बनाउने प्रयास भएको उनको भनाइ थियो।
सम्पत्ति शुद्धीकरण निवारण विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा यो कानुनको व्यापक दुरुपयोग भएको बताए।
उनले भने, ‘व्यापक दुरूपयोग गरिएको थियो। कोही मान्छे मन परेन, कोही मान्छे मन परेन सम्पत्ति शुद्धीकरण लगाइदे। हाम्रै पार्टीका सभापतिमाथि पनि यो हतियार चलाइएको हो। मविरूद्ध पनि यो हतियार चलाउन खोजिएको थियो। अहिले कर्मचारीहरू भन्छन्।’
अहिलेको सरकारले भने यस्तो अभ्यास नगर्ने भन्दै उनले विपक्षी दललाई अनावश्यक आशंका नगर्न आग्रह गरे।
उनका अनुसार विगतमा प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेर राजनीतिक प्रतिशोध साँध्न र निश्चित व्यक्तिलाई दुःख दिने उद्देश्यले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनको प्रयोग गरिएको थियो। अहिले भने त्यसलाई व्यावसायिक र निष्पक्ष प्रणालीमा लैजान सरकार प्रयासरत रहेको उनले बताए।
अर्थमन्त्री वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्न नहुने धारणा राखे।
उनले भने, ‘ग्रेलिस्टको टेक्निकल परिभाषा नै हामीले गरेका हर गतिविधिमाथि असाध्यै चर्को निगरानी भइरहेको छ। सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई राजनीतिक अभिष्ट पूरा गर्नका लागि दुरूपयोग गर्यौं भने हामी ग्रे लिस्टबाट निस्कन सक्दैनौं।’
मन्त्री वाग्लेले कसैले धन कमाएको, घर निर्माण गरेको वा केही तडकभडक जीवनशैली अपनाएको आधारमा मात्र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउन नमिल्ने स्पष्ट पारे।
उनका अनुसार सम्पत्ति शुद्धीकरण दोस्रो तहको अपराध हो। त्यसअघि तस्करी, भ्रष्टाचार वा अन्य मूल कसुर स्थापित हुनुपर्ने र त्यही अपराधबाट आर्जित सम्पत्तिलाई वैध देखाउने प्रयास भएमा मात्र सम्पत्ति शुद्धीकरणको कसुर आकर्षित हुने उनले बताए।
सरकारले यस्तो दुरुपयोगको संस्कृतिलाई अन्त्य गर्दै मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने लक्ष्यका साथ आवश्यक काम गर्ने उनको भनाइ थियो।
यसैबीच, आफूविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको कानुन प्रयोग गर्ने प्रयास भएको भन्ने अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति विपक्षी दलका गुरू बरालले नियमापत्ति जनाए।
बरालले मन्त्रीले सदनमा अप्रमाणित विषय प्रस्तुत गरेको भन्दै यथार्थमा आधारित कुरा मात्र राख्नुपर्ने धारणा व्यक्त गरे।
तर, सभामुख डोलप्रसाद अर्यालले उक्त विषयमा कुनै टिप्पणी नगरी बैठकको कार्यसूचीलाई अघि बढाएका थिए।



