९ माघ, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैदेशिक सहायता नीतिमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
बुधबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा सानेपामा आयोजित गोष्ठीमा बोल्दै थापाले वैदेशिक सहयोगको नीति सरकार बदलिए पनि स्थिर रहनुपर्ने आवश्यकता औंल्याए।
उनले भने, “वैदेशिक सहायता नीति जुनसुकै सरकार आए पनि स्थिर रहनुपर्छ। यो नेपालको राष्ट्रिय स्वार्थसँग जोडिएको विषय हो। यदि राजनीतिक दलहरूबीच यसबारे एउटै धारणा बनाउन सक्यौं भने यो नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ। तर, त्यसो गर्न नसक्ने हो भने हरेक नयाँ सरकार डराउने स्थिति सिर्जना हुन्छ।”
थापाले वैदेशिक सहायता परिचालनमा राजनीतिक प्रभावलाई न्यून गरी विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा पनि ध्यानाकर्षण गराए। उनले भने, “यदि वैदेशिक सहायता परिचालन गर्दा प्राप्त हुने राजनीतिक लाभभन्दा गुमाउने जोखिम बढी हुने स्थिति आयो भने सरकारले सहयोग लिनै छाड्ने अवस्था आउन सक्छ। यस्तो स्थिति खतरनाक हुन्छ।”
थापाले वैदेशिक सहायता सम्बन्धी छलफललाई आरोप-प्रत्यारोपको विषय बनाउन नहुने भन्दै यसलाई समझदारी र सहकार्यको माध्यमबाट अघि बढाउनुपर्ने धारणा राखे।



