२८ पुस, रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले सरकारले अध्यादेशमार्फत कानुन निर्माण गर्नु सकारात्मक नभएको बताएका छन्।
रिपोर्टर्स क्लब नेपाल, बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका साउदले संसद् चलाउन नसकेर अध्यादेशमार्फत कानुन निर्माण गर्दा सरकारमाथि चौतर्फी प्रश्न उठेको उल्लेख गरे।
साक्षात्कारमा नेता साउदले ठूला दलहरू मिलेर सरकार गठन हुँदा पनि स्थिरता ग्यारेन्टी गर्न नसकिएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्नेमा जोड दिँदै भने, “सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुन जरुरी छ। सहमतिविपरीतका अभिव्यक्तिले गठबन्धनको जगलाई असर पुर्याउन सक्छ।”
नेता साउदले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले समर्थन दिएको भए पनि सरकारले त्यसअनुरूपका कार्य नगरेको गुनासो गरे। दुई दलबीचको न्यूनतम साझा सहमति कार्यान्वयन नभएको उल्लेख गर्दै उनले सहमति पालना गर्न सुझाव दिए।
संविधानलाई उन्नत बनाउने विषयमा उनले राष्ट्रिय सहमति कायम गरेर परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए। “अब संविधानलाई कसरी उन्नत बनाउने भन्ने विषयमा गहन छलफल गरी राष्ट्रिय सहमति कायम गर्नुपर्छ र परिणाम आउने गरी काम गर्नुपर्छ,” साउदले भने।
उनले स्थिरता र संवैधानिक विकासका लागि सरकारको भूमिकामा सुधार आवश्यक रहेको धारणा व्यक्त गरे।



