२७ पुस, काठमाडौं – गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासलाई तीव्र बनाउन सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औँ वार्षिक साधारणसभामा बोल्दै उनले सरकारको प्राथमिकता आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेको स्पष्ट पारे। गृहमन्त्री लेखकका अनुसार उद्योग, व्यवसायलाई सहज बनाउने, सुशासनलाई बलियो बनाउने र शासकीय सुधारलाई अघि बढाउने कानुन संशोधन गरिएको छ।
उनले स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै, बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको जानकारी दिए। साथै, मुलुकमा उद्योग र व्यवसायको विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिए।
गृहमन्त्री लेखकले लगानीको वातावरण बनाउन गैरआवासीय नेपालीहरूका लागि महत्त्वपूर्ण निर्णय गरिएको र सूचना प्रविधिको क्षेत्रमा विदेशमा सेवा निर्यात गर्न सक्ने व्यवस्था गरिएको बताए।
सरकार निजी क्षेत्रसँग सहकार्य गर्न सधैँ तयार रहेको उल्लेख गर्दै उनले उद्योगपतिहरूलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे।



