२७ पुस, काठमाडौं – नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन नेपाल सरकारले ऐतिहासिक कदम चालेको छ।
मन्त्रिपरिषद्को पुस २६ गते बसेको बैठकले ल्याएको नयाँ अध्यादेशअनुसार अब नेपाली आईटी कम्पनीहरूले विदेशमा शाखा कार्यालय खोल्न, लगानी गर्न र त्यहाँबाट आर्जित आम्दानी कानुनी रूपमा स्वदेश भित्र्याउन पाउने भएका छन्।
यस निर्णयले लामो समयदेखि आईटी क्षेत्रमा क्रियाशील उद्यमीहरूको प्रमुख मागलाई सम्बोधन गरेको छ। सो निर्णयले नेपाली कम्पनीहरूको अन्तर्राष्ट्रिय पहुँच विस्तार हुने र मुलुकमा विदेशी मुद्राको आम्दानी बढ्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नो फेसबुक पोस्टमार्फत यसबारे प्रतिक्रिया जनाउँदै भनेका छन्, “नेपालमा आईटीको क्षेत्रमा काम गर्नेहरूका लागि केही कानुनी अप्ठ्याराहरू थिए। अब नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा कार्यालय स्थापना गर्न र कमाइलाई कानुनी रूपमा भित्र्याउन पाउने भएका छन्।”
सूचना प्रविधि क्षेत्रका विज्ञहरूले सरकारको यस कदमलाई स्वागत गर्दै यो निर्णयले नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन मद्धत पुग्ने विश्वास व्यक्त गरेका छन्।



