२३ कात्तिक, काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ०८१ कात्तिक २३ शुक्रबारबाट व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म रोकेर पूर्वाधार विस्तार तथा निर्माण कार्य गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले तोकेको मापदण्ड तथा नेपाल सरकारको गुरुयोजना अनुसार विमानस्थलको स्तर वृद्धि गर्न लागिएको हो ।
शुक्रबार राति १० बजेको अन्तिम उडानपछि काठमाडौं विमानस्थलबाट हरेक दिन पहिलो उडान बिहान ८ बजेमात्रै हुनेछ । र, राति १० बजेअघि अन्तिम उडान भइसक्नुपर्ने छ ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, काठमाडौं विमानस्थल बिहान ६ बजे खुला भई राति ३ बजेसम्म सञ्चालन हुँदा दैनिक दुईतर्फी आउने/जाने गरेर ३ सय वटा आन्तरिक र १ सयवटा अन्तर्राष्ट्रिय उडान हुँदै आएको थियो । शुक्रबारदेखि विमानस्थल बिहान ८ बजे खुलेर राती १० बजे बन्द हुँदा ३० देखि ३५ प्रतिशतसम्म उडान कटौती हुने छन् ।
यो एसियाली विकास बैंकको अनुदान सहायतमा सन् २००९ मा तयार गरिएको गुरुयोजनाअनुसार सन् २०१३ देखि सुरु भएको काठमाडौं विमानस्थलको स्तरोन्नतिको कामको निरन्तरता भएको बताइएको छ ।
अहिलेको पूर्वाधार विस्तार र स्तरोन्नतिले काठमाडौं विमानस्थलले आगामी वर्षहरूमा १ करोड २० लाख हाराहारी यात्रुलाई सेवा दिने प्रक्षेपण गरिएको छ । अहिले यसले वार्षिक करिब ८० लाख यात्रुलाई सेवा दिइरहेको छ ।



