१२ कात्तिक, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारीको विषयमा कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेललाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
सहकारी छानबिन संसदीय समितिले कांग्रेसका उपसभापति गुरुङ र एमाले सांसद पोखरेल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको देखाएकाले सरकारले उनीहरुमाथि पनि तत्काल छानविन गरी दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने महामन्त्री थापाको भनाई थियो ।
‘अहिले बाहिर छलफल चर्चा चलेको छ–नेपाली कांग्रेसको एक जना नेता पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो । थप अनुसन्धान गर्नुपर्छ । मत सरकारलाई यहीबाट अनुरोध गर्न चाहन्छु–बकाईदा अनुसन्धान गर्नुस् । अनुसन्धान गर्नुपनि पर्छ’ महामन्त्री थापाले भने,’नेकपा एमालेका ऋषि पोखरेलजीको नाम आयो । गर्नुस् अनुसन्धान । अनुसन्धान गर्नुस् मात्रै होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस् । दण्ड पनि दिनुस् ।’
गलत काम गरेको छ भने त्यसलाई छानबिन र न्यायको कठघरामा ल्याउनैपर्ने थापाको धारणा थियो ।
‘यो देशमा के स्थापित गर्नुपर्नेछ भने कोही पनि मानिस जुनसुकै राजनीतिक दलको होस–कांग्रेस होस्, एमाले होस्, रास्वपा होस्, राप्रपा होस, ठूलो होस्, सानो होस्, शक्तिशाली मानिस होस् । पाँचपटक प्रधानमन्त्री बनेको मानिस होस्, अहिले भइरहेका प्रधानमन्त्री होस् कि भोली प्रधानमन्त्री हुने मानिस होस् कि । जो सुकै होस, कानुनभन्दा माथि कोही छैन । न्यायको कठघरामा सबै उभिनुपर्छ भन्ने भन्नेकुरा पनि सरकारले स्थापित गराउन सक्नुपर्छ । राज्यको अरु निकायले स्थापित गराउन सक्नुपर्छ’ थापाले भने ।
उनले सरकारले आम नागरिकको विश्वसनीयता जगाउन पनि ठगीमा संलग्न जो कोही पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने काममा ढिलाई गर्न नहुने बताए ।
सोमबार नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको दसैं, तिहार, छठ लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले न्यायको कठघरामा जो कोही पनि उभिनुपर्छ भन्ने मान्यता स्थापित गराउन पनि सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन हिच्किच्याउने काम गर्न नहुने उल्लेख गरे ।



