२६ भदौ, काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकहरुको बलियो सहयोग आवश्यक रहेको बताएका छन् ।
भारतको नयाँ दिल्लीमा बुधबारबाट सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
मन्त्री पाण्डेले आइकाओ तथा अन्य सदस्य मुलुकहरुलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न जोडदार रुपमा आग्रह गर्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न नेपाल तयार रहेको बताए । मन्त्री पाण्डेले भने, ‘हाम्रा अन्तर्राष्ट्रिय विमानस्थलहरु अहिलेसम्म सर्टिफाइ भइसकेका छन्, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न हामीलाई क्षेत्रीय सहयोगको अपेक्षा छ ।’
मन्त्री पाण्डेले नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनमा छिमेकीहरुको सहयोग आवश्यक रहेको बताए । नेपाल हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धिप्रति प्रतिबद्ध रहेको र आइकाओको युनिभर्सल सेफ्टी ओभरसाइइट अडिट प्रोग्राम (यूएसओएपी) कार्यान्वयनको विषयमा नेपालले सन् २०२२ सम्ममा उच्च तथा विश्वका अरु मुलुकको हाराहारीमा उपलब्धि हासिल गरेको उनले बताए ।
उनले सन् २०२२ को अडिटमा नेपालले सरदर ७० प्रतिशतको हाराहारीमा अंक हासिल गरेको सुनाउन पाउँदा खुसी व्यक्त गरे । उनले भने, ‘नेपालले ग्लोबल एभियशन सेफ्टिी प्लानका मुख्य सिद्धान्तहरुलाई नेशनल सेफ्टिी प्लानमा सफलतापूर्वक एकीकृति गराइसकेको छ ।’
बुधबारबाट नयाँ दिल्लीमा सुरु भएको एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्ने छ । सो सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गरेका हुन् । सम्मेलनमा करिब ४१ देशका २५० भन्दा बढी प्रतिनिधिको सहभागी छन् ।



