१९ भदौ, काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई दुई दलीय शासन अधिनायकवाद तर्फ लैजाने खोजिएको भन्दै अब त्यसविरुद्ध विपक्षीहरूलाई समेटेर लैजानुपर्ने बताएका छन् ।
बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष दाहालले सबै प्रतिपक्षलाई समेटेर लैजानुपर्ने बताएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘सबै प्रतिपक्षलाई समाहित गर्दै संसदमा भएको हाम्रो शक्तिलाई पनि प्रभावकारी बनाउने । त्यसको साथसाथै अन्य फोरमहरुमा पनि सरकारको जनविरोधी क्रियाकलापहरु, भ्रष्टाचार विरोधी अभियान रोकिएको छ, छोपछाप पार्न लागिरहेको छ । लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श पनि कमजोर हुँदै गइराखेको छ । दुई दलिय शासनतिर देशलाई लान खोजिएको छ । त्यसले अधिनायकवादतिर लाने संकेत देखा परेको छ । पश्चगमनतिर जान खोजेको छ । त्यसलाई रोक्नका लागि जनतालाई सुसुचित गर्नुपर्छ । प्रशिक्षित गर्नुपर्छ । पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने निर्णय भएको छ,’ दाहाललाई उदृृत गर्दै प्रवक्ता सापकोटाले भने ।
अध्यक्ष दाहालले भूराजनीतिक स्थितिले गर्दा राष्ट्रियताको सवाल धेरै संवेदनशील भएको बताएका थिए ।



