१८ भदौ, काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सय दिन पूरा नहुँदै सरकारलाई घेराबन्दीको प्रयास भइरहेकाले त्यसलाई चिर्न एमाले नेताहरूलाई निर्देशन दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासल बालकुमारीमा मंगलबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । साथै उनले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताउँदै यसमा कसैले शंका गर्न नहुने बताए ।
ओलीले कांग्रेस र एमालेबीच बलियो सम्बन्ध भएको उल्लेख गर्दै यो गठबन्धन २०८४ को निर्वाचनसम्म जाने बताए ।
‘कांग्रेस र एमालेबीच भएको सहमति अक्षरशः कार्यान्वयन हुन्छ । यसमा आशंका गर्नुपर्ने कुनै कारण छैन’ ओलीको भनाइ उल्लेख गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘यो सरकार बनेदेखि सर्वसाधारणमा विश्वास बढेको छ । दुई दलबीच भएको सहमति अनुसार सरकार आफ्नो काममा प्रतिबद्ध छ ।’ उनले कांग्रेस पनि सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए ।
ओलीले सरकारबाट बाहिरएपछि प्रमुख प्रतिपक्ष दलका अध्यक्ष पुष्पकमल दाहालले संसदभित्र र बाहिर दिएको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न आवश्यक भएको बताए । उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्रीमाथि लगाएको आरोप कुण्ठाग्रस्त भएको ओलीको भनाइ थियो ।
‘एमाले मुख्य नेतृत्वप्रति प्रमुख प्रतिपक्ष दलका नेताको अभिव्यक्ति कुण्ठाग्रस्त छ । सरकारबाट बाहिरिन बाध्य भएपछिको यो छट्पटी हो’ ओलीको भनाइ थियो, ‘यो परिस्थितिमा एमाले सचेततापूर्वक अघि बढ्छ ।’



