१८ भदौ, काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समितिका सभापति सूर्य थापाले सहकारी बचतकर्ताहरूको बचत रकम सुरक्षा हेतु प्राप्त सूचना र तथ्यहरूको थप पुष्टि र पुनर्पुष्टि समेतका कार्य गर्न समय अपर्याप्त भएकाले १५ दिनको समय थप गरिदिन भन्दै प्रस्ताव राखेका थिए ।
सार्वजनिक बिदाका दिन र कार्यालय समयबाहेकका बेलासमेत काम गर्दा पनि समय अपुग भएको भन्दै सभापति थापाले १५ दिन समय थपका लागि प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले पास भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
२०८१ जेठ १५ मा प्रतिनिधिसभाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा ७ सांसद रहेका छन् । कार्य प्रारम्भ गरेको दिनदेखि ३ महिनाको कार्यकाल रहेको समितिको म्याद भदौ २२ गते सकिन लागेको थियो । समितिले जेठ २३ देखि काम थालेको थियो ।



