१८ भदौ, काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिका विषयमा पूर्वप्रहरी संगठन प्रमुख मञ्चले आपत्ति जनाएको छ ।
मञ्चले मंगलबार विज्ञप्ति जारी गर्दै एक विशिष्ट श्रेणीका राष्ट्रसेवक प्रहरी प्रमुखमाथि सार्वजनिक कार्यक्रममै ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति भाषिक अराजकता रहेको जनाएको हो । साथै मञ्चले तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन भनेको छ ।
‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि अनुरोध गर्दछौ’ विज्ञप्तिमा छ,’नेपाल प्रहरी संगठन प्रमुख तथा सकल सुरक्षाकर्मीहरुलाई यस्ता प्रसंगमा अविचलित रही राष्ट्र र आम नागरिकको सेवामा अविछिन्न लागि रहन यस मञ्च ऐक्यबद्धतासहित अपील गर्दछ।’
नेपालको संविधानले आम नागरिकको अभिव्यक्तिको स्वतन्त्रतालाई सुनिश्चित गरे पनि अभिव्यक्तिको स्वतन्त्रता भनेको निम्छरो भाषिक अराजकता नभएको उनीहरूले उल्लेख गरेका छन् ।
‘स्वतन्त्रताको उपयोग गरिँदा अर्को पक्षको अधिकारको सीमा अनतिक्रम्य रहन्छ भन्ने सामान्य बुझाइ नागरिकमा हुनुपर्छ, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो’ मञ्चको विज्ञप्तिमा छ,’पदीय हैसियतमा माननीय मन्त्रीज्यूसँग सबैले शालिन, सुसँस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुन्छन् । यसको विपरित माननीय मन्त्रीज्यूबाट प्रहरी महानिरीक्षकविरुद्ध अमर्यादित र अशोभनीय शब्दावलीको जुन प्रयोग भयो त्यसले माननीयज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरी जस्तो गरिमामय र नेपाल सरकारको सबैभन्दा सकृय संगठनको नजरबाट माननीयज्यू गिर्नु भएको छ ।’




