११ साउन, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले ठूला अस्पतालका वरिष्ठ चिकित्सकहरु नै अस्पताल समयमा उपस्थित नहुने र कार्यालय समयसम्म नबस्ने प्रवृत्ति देखिएको भन्दै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकलमा काम नगर्न निर्देशन दिएका छन् ।
मन्त्री पौडेलले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग, अस्पताल तथा स्वास्थ्य केन्द्रसँग शुक्रबार जुम मिटिङ गरी यस्तो निर्देशन दिएका हुन् ।
मिटिङमा वीर, टिचिङ, पाटनलगायत मुलुकभरका ठूला अस्पतालका निर्देशकहरु सहभागी भएका थिए । मन्त्री पौडेलले सामान्य शल्यक्रिया गराउन पनि एक वर्षसम्म पालो कुनुपर्ने भन्दै सबै मिलेर अस्पताल सुधारमा लाग्न आग्रह गरेका छन् ।
मिटिङमा सबै अस्पतालका निर्देशकहरुले आ–आफ्नो क्षेत्रबाट अस्पताल सुधार गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।



