६ जेठ, काठमाडौं – कांग्रेस लगायतका विपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामछानेलाई प्रतिनिधिसभामा बोल्न अवरोध नगर्ने निर्णय गरेका छन् ।
विपक्षी दलका नेताहरूको संसद् भवनमा भएको बैठकले लामिछानेलाई बोल्न अवरोध नगर्ने तर संसदीय छानबिन समिति नबन्दासम्म अन्य कार्यसूची चाहिँ अघि बढाउन नदिने निर्णय गरेको हो
‘संसदीय छानबिन समिति बनाउने विषयलाई सकारात्मक लिएका छौं । रवि लामिछानेले बोल्ने समय माग्नु भएको छ । हामी उहाँलाई सुन्न तयार छौं’ बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,’ छानबिन समिति नबनिकन सरकारी बिजनेस प्रवेश गर्न चाहिँ हामी दिन्नौं ।’
उनले लामिछानेलाई सभामुखले बोल्नु दिए अवरोध नगर्ने उल्लेख गर्दै उनले बोलेका कुराले समितिको कार्यक्षेत्र तोक्नका लागि सहज हुनसक्ने बताए ।
यसअघि कांग्रेसले सहकारीको बचत अपचलनको विषयमा छानबिन समिति नबन्दासम्म लामिछानेलाई बोल्न पनि अवरोध गर्दै आएको थियो । गत शुक्रबारको बैठकमा सभामुखले लामिछानेलाई बोल्ने समय दिँदा प्रतिनिधिसभामा धकेलाधकेल नै भएको थियो ।



