२९ मंसिर, काठमाडौं — काठमाडौं जिल्ला प्रशासन कार्यालयले जेन–जी आन्दोलनका क्रममा घाइते भएकालाई वितरण गरिँदै आएको परिचयपत्र हाललाई स्थगित गरेको छ।
सोमबार जारी गरिएको सूचनामा गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको घाइतेको सूचीबाहिरका व्यक्तिहरू पनि परिचयपत्र लिन आउन थालेपछि वितरण रोक्ने निर्णय गरिएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयको वेबसाइटमा प्रकाशित घाइते नामावलीभन्दा बाहिरका व्यक्तिहरू पनि जेन–जी घाइते परिचयपत्रको प्रयोजनका लागि आउने क्रम बढ्दै गएकाले यस विषयमा गृह मन्त्रालयको निर्देशन आवश्यक देखिएको छ। त्यसैले अर्को व्यवस्था नभएसम्म जेन–जी घाइते परिचयपत्र वितरणको कार्य स्थगन गरिएको जानकारी गराइन्छ।’
यसअघि गृह मन्त्रालयको निर्देशनअनुसार देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट घाइतेको परिचयपत्र वितरण हुँदै आएको थियो।



