१९ असोज, काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धिको कार्यभारलाई पूरा गर्न सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित नेपाल–भेनेजुयला मैत्री संघ घोषणा कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने बताए ।
विश्व राजनीति एसिया केन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलतालाई बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने उनले बताए ।
‘हाम्रो देशको कुराकानी गर्दा हामी हाम्रो देशमा विशेषतः हामी दुई वटा छिमेकसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौं । हामी भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौं । उनीहरूसँग मैत्रीपूर्ण, समानतामा आधारित मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौं । कुनै एउटासँग घनिष्ट सम्बन्ध, अर्कोसँग अलि दूरीको सम्बन्ध हामी त्यसको पक्षमा छैनौं,’ श्रेष्ठले भने, ‘मुख्यतः हामी भारत र चीन दुवैसँग मैत्रीपूर्ण सम्बन्धलाई अगाडि बढाउन चाहन्छौं । त्यो मैत्रीपूर्ण सम्बन्ध हाम्रो स्वभाविक रुपमा समनिकटताको आधारमा हुन्छ, दुवै देशसँग समानताको आधारमा हुन्छ । तर हाम्रो देशको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वधिनता, स्वाभिमान र हितको पक्षमा हामी जहिले पनि बोल्छौं, अडान लिन्छौं ।’



