Skip to main content

Epost Nepal

डडेल्धुरा नै अन्तिम राजनीतिक मैदान: देउवाको उम्मेदवारी पुष्टि

२३ मंसिर, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन २१ मा निर्धारित प्रतिनिधि सभा निर्वाचनमा आफू डडेल्धुराबाट उम्मेदवार बन्नेबारे पार्टीका कार्यकर्तालाई जानकारी गराउन थालेका छन्।

गृहजिल्ला डडेल्धुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग आज महाराजगञ्जस्थित निजी निवासमा भएको भेटमा पनि देउवाले आगामी चुनावमा डडेल्धुराबाट प्रत्यक्ष उम्मेदवार बन्ने आफ्नो निर्णय दोहोर्याएका छन्।

‘सभापतिज्यूसँग कुराकानी हुँदा उहाँले अन्तिम पटक डडेल्धुराबाट प्रतिनिधि सभा चुनाव लड्ने इच्छा व्यक्त गर्नुभयो,’ भट्टले बताए।

भट्टका अनुसार उनले युवालाई अघि बढाउनुपर्ने कुरा सभापतिलाई राखेका थिए। यसमा देउवाले ‘चुनाव उठ्ने–नउठ्ने निर्णय म आफैं गर्छु’ भनेको भट्टले बताए।

यसअघि देउवा अब चुनाव नलड्ने भन्ने अनुमानी विश्लेषण भइरहेका थिए। तर गृहजिल्लामा रहेका युवासँगको भेटमा उनले अन्तिम पटक डडेल्धुराबाटै चुनाव लड्न चाहेको र सहयोग गर्न आग्रह गरेको स्पष्ट भएको छ।

देउवा २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा डडेल्धुराबाटै प्रतिनिधि सभामा विजयी भएका थिए।

यसैबीच, कांग्रेसका विभिन्न प्रदेश र क्षेत्रीय समितिहरूले प्रतिनिधि सभा तथा राष्ट्रिय सभातर्फ उम्मेदवार सिफारिस गर्ने काम सुरु गरिरहेका छन्। डडेल्धुराबाट देउवाको नाम पनि सिफारिस सूचीमा राख्ने तयारी भइरहेको छ।

सभापति देउवाले केन्द्रीय समितिको कार्यतालिकाअनुसार पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन हुने बताउँदै पार्टी र आम निर्वाचनमा युवाको अर्थपूर्ण सहभागितामा आफू सकारात्मक रहेको पनि प्रष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *