३० भदौ, झापा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताएका छन् ।
माओवादी केन्द्र झापाले आइतबार बिर्तामोडमा गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले भने ‘नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई सङ्गठित गर्दै अघि बढ्ने काममा लाग्छ । सत्ताको खेलमा लाग्दैन,’ । उनले नेकपा (एमाले) र नेपाली कांग्रेससहितको सरकार अगाडि बढ्ने र फेरि आफूहरूसँग मिल्न नआइदिए हुन्थ्यो भन्ने लागेको धारणा राखे ।
उनले गलत विचार र प्रवृत्तिविरुद्ध झापाबाटै पुनः विद्रोह सुरु हुन सक्ने चेतावनी दिए। २०२८ सालको ‘झापा बिद्रोह’ को स्मरण गरेका दाहालले त्यही आन्दोलनबाट उठेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उनकै गृह जिल्लामा कडा शब्दमा प्रहार गरे । उनले भने,’ओलीलाई सुधार्न धेरै कोसिस गरियो । तर सम्भव भएन ।’
उनले एमाले नेतृत्वलाई सुधार्न निकै कोसिस गरेको, मिलेर चुनाव लड्ने प्रस्ताव समेत राखेको बताए । ‘पार्टी एकता पनि भयो । तर, ओलीजी संविधान मिचेर दलालसँग मिलेर पार्टीभित्रै अन्तर्घात गर्नेतर्फ अग्रसर हुनुभयो । पछिल्लो पटक वामपन्थी एकताले जनमत बढ्नुका साथै जनचाहना समेत सम्बोधन हुने अवस्था थियो । तर अहिले पनि एक्कासी उहाँले नै घात गर्नुभयो,’ उनले भने ।



