२२ असार, काठमाडौं – नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिनेन निर्णय गरेको छ ।
शनिबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुम सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै लेखकले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन प्रक्रिया पूरा गरेपनि नेपालको संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार गठन हुने बताए ।
उनले अहिलेको विश्वासको मतको प्रस्ताव धारा १०० बमेजिम हुने भएकाले संवैधानिकरुपमा उपधारा २ बमोजिमकै सरकार गठन गर्न कुनै बाधा नहुने बताए । ‘राजनीतिक रुपमा कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वभाविक रुपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाई भन्दा बढी मत जुटेको छ,’ उनले भने ।
बैठकले संविधानको अभ्यासको सन्दर्भमा देखापरेका संविधानका सबल र कमजोर पक्ष र यसका जटिलताहरुको समीक्षा गरेर संविधानलाई समसामुहिक रुपले संशोधन, परिमार्जन गर्ने, संविधानको संशोधन र परिमार्जनमा संघीय लोकतान्त्रिक, गणतन्त्रतात्क शासन व्यवस्था र समावेशिताको सवाललाई थप सुदृढ गर्ने कुराको कार्यान्वयन गर्ने निर्णय गरेको उनले बताए ।
नयाँ बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार हुने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमतिलाई कार्यान्वयन गर्नका लागि दृढता व्यक्त गर्ने बैठकको निर्णय छ ।



