२१ असार, काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन सकिएको छ ।
महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य चयन गरेको हो ।
केन्द्रीय कमिटी २ सय ९९ र २१ पदाधिकारी चयन गर्नुपर्नेमा ३ पदाधिकारी ९३ केन्द्रीय सदस्यको मात्र टुंगो लागेको छ । बन्दसत्रमा पेस भएका ९३ जना केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । शुक्रबार काठमाडौंमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका थिए ।
टुंगो लागेका केन्द्रीय कमिटीका सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेलले शपथग्रहण गराए । २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी १० दिनभित्र पूर्णता दिने बताएको छ ।
पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, उपमहासचिव, सचिवका साथै केन्द्रीय सदस्यमा पदभन्दा बढी नेता आकांक्षी भएपछि सहमति हुन नसकेको हो । केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने निर्णय भएको छ ।



