१९ असार, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले गाडीको सिसा कालो भएको भनेर सांकेतिक रूपमा रवि लामिछानेको छवि धुुमिल भएको विषय लिखित रुपमै राखेका छन् ।
त्यस्तै उनले लामिछानेलाई राजनेता बन्ने प्रयास गर्न आग्रह गर्दै बाटो गलत समातेको आरोप लगाएका छन् ।
“राजनेता बन्नु पर्यो सभापति ज्यू, नेता मात्र बनेर पुगेन । तपाईंको गाडीको सिसा कालो भइसक्यो सभापतिज्यू, समीक्षा गर्नुहोस्,” महामन्त्री ढकालले भनेका छन्, “सभापतिज्यू, झिँगासँग उडियो भने ‘……’ मा पुगिन्छ । मौरीसँग उड्यो भने ‘मह’मा पुगिन्छ ।”
उनले आफ्नो इच्छा मौरीसँग उड्ने भए पनि सभापति झिँगासँग उड्न थालेको आरोप लगाएका छन् । “मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन । हजुर पनि झिँगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ,” ढकालले लेखेका छन्, “मौरीसँग उडौँ, जनतालाई मह खुवाऔँ ।”
उनले शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालसँग निरन्तरका तस्बिरहरू आइरहेको भन्दै अब उनीहरूसँगै दाँजेर लामिछानेलाई को कति ठीक भन्ने बेला आइसकेको बताए ।
‘सभापतिलाई देउवा, ओली र प्रचण्डसँग दाँजेर को कति ठीक ? को कता ठीक ? भन्ने बेला भइसक्यो । मेरो चाहना त दाँज्ने तहको नहोस् भनेको, धेरैमाथि हुनपर्छ सभापति ज्यू, दाँजिने तहमा होइन ।
यसैगरी उनले रास्वपामा संस्कारको प्रश्न उठाउँदै सभापतिको आलोचना सुन्न नसक्ने चरित्र सच्याउन जरुरी रहेको उल्लेख गरेका छन् ।
“म पनि सच्चिने, तपाईं पनि सच्चिने र सभापति पनि सच्चिने । किन कि प्रश्न आइसक्यो ? सच्चिने कि…? भो अर्को शब्द नबोलौँ होला । फेरि साथीहरूलाई लाग्न सक्छ सभापति सक्किने भन्ने तँ को हो ? पार्टी सक्किन्छ भन्ने तँ को हो ?,” ढकालले भनेका छन्, “मलाई त चुप लगाउन सक्नुहोला, तर जनतालाई ? यी प्रश्न मेरा हुन् कि जनताका, आफैँ मूल्यांकन गर्नुहोस् ।”



