२६ जेठ, काठमाडौं – सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यतिबेला प्रतिनिधि सभा विघटन नगरेको भए अहिले एमाले भन्नै नपाउने अवस्था आउने बताएका छन् ।
एमाले काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले पार्टीभित्रैबाट आफू नेतृत्वको सरकार ढाल्न र पार्टी भित्रैबाट विपक्षलाई प्रधानमन्त्री बनाउन कुद्ने काम भएपछि प्रतिनिधिसभा विघटन गरेर एमालेलाई बचाउने काम गरेको दाबी गरेका हुन् ।
‘कतिपय मान्छेहरूले कहिल्यै पनि कुरा नबुझ्ने प्रवृत्ति देख्दाखेरी म छक्क पर्छु । पुस ५ गते अरु सबै ठिकै थियो । पुस ६ गते संसद् चाहीँ भंग नगरेको भए हुन्थ्यो । संसद् भंग किन गर्नुपर्यो ? त्यो हाम्रो रहर थियो ? सबभन्दा प्रमुख पार्टी हामी भएका थियौं । अर्को पार्टीलाई पनि मिलाएर बहुमत पुर्याएका थियौं । झन्डै दुई तिहाईको स्थिति हामीले बनाएका थियौं । पार्टी भित्रैबाट बाहिरी शक्तिहरूले हामीलाई केही गर्न सक्नेवाला थिएन । पार्टी भित्रैबाट हुँडालो मच्चाएर बुरुकबुरुक उफ्रिएको छ । बैठक बैठक जस्तो हुँदैन, चलाई सक्नु छैन । विकास, निर्माणको काम भएको छ, अरु काम भएको छ । पुनःर्निर्माणको काम भएको छ । सबै कामहरु भएको छ, तर देख्दैन,’ अध्यक्ष ओलीले भने, ‘आज पनि उफ्रिएको छ, भोली पनि उफ्रिएको छ । कसरी सरकार ढाल्ने भनेको छ । अनि दौडिएर विपक्षलाई प्रधानमन्त्री बनाउन कुदेको छ । अदालतमा गएको छ । अनि फेरी कुरा ठूलो गर्या छ । त्यतिबेला प्रतिनिधिसभा विघटन नगरेको भए आज नेकपा (एमाले) भन्न पाउदैन थियौं हामीले । यो अन्तै लगेर बुझाई सकेको हुन्थ्यो ।’
आफू नेतृत्वको सरकारले गरेका कामहरू पार्टीका नेताहरूले नदेखेको ओलीले भने । पार्टीको आलोचना मात्रै गरिएको तर भएका राम्रा कामहरूको प्रसंसा नभएको उनको तर्क थियो । ‘दक्षिणपन्थी शक्तिहरूको पाउमा जसरी सरकार बुझाईयो, एमाले पनि बुझाई सक्या हुन्थ्यो । अनि तपाईहरूले देख्नु भएन ? नवौ महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष, जसले पार्टीलाई प्रमुख हैसियतमा मात्रै होइन, मजबुत हैसियतमा पुर्याएको छ । सबभन्दा ठूलो पार्टी बनाएको छ । जसले देशभरका पार्टीलाई मिलाएर झन्डै दुई तिहाईको मजबुत शक्ति बनाएको छ । उसैलाई साधारण सदस्यबाट समेत निकालेको देख्नु भएन ?,’ उनले भने ।



