२६ जेठ, काठमाडौं – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपालमा गम्भीर विषय बनेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रहीरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गरे । उनले छानबिन समिति बनाउँदा पनि राजीनामा दिनुपर्दैन भनेपछि मात्रै संसदीय छानबिन समिति बनेको जिकिर गरे । उनले नेपाली कांग्रेसले संसदमा सहकारीको मुद्दा नउठाएको भए ७३ लाख जनता जोडिएको मुद्दालाई निर्णायक मोडमा पुर्याउन नसकिने स्थिति रहेको बताए ।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीले संसदमा सहकारीको मुद्दा त्यस ढंगबाट अगाडि ल्याउँदैन थियो भने यहाँ सहकारी पीडितहरुले न्याय पाउने अवस्था हुँदैन थियो । ७३ लाख जनता जोडिएको यो मुद्दालाई नेपाली कांग्रेसले एउटा निर्णायक मोडमा पुर्याएको छ । संसदमा नेपाली कांग्रेस पार्टीले यसलाई सशक्त ढंगबाट संसदमा भएका साना पार्टीहरु छोडेर कुनैपनि राष्ट्रिय पार्टीले यो सहकारीको मुद्दालाई उठाएको थिएन ।’
नेता पौडेलले सत्तालाई सम्पूर्ण रुपमा दुरुपयोग गरेर यो मुद्दा उठ्न नदिन, गुपचुप गर्न, ढाकछोप गर्न, प्रमाण लुकाउन सम्पूर्ण रुपमा अहिलेको सत्तारुढ गठबन्धन लागेको आरोप लगाएका छन् ।



