११ जेठ, काठमाडौं – नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विषयमा प्रधानमन्त्रीसँग जवाफ मागेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष दलहरुको बैठकमा कांग्रेस नेताहरुले सिरोहियामाथि गरिएको धरपकडका विषयमा प्रधानमन्त्रीसँग प्रश्न उठाएका थिए ।
त्यस्तै, केही दिनअघि प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस सांसदहरुलाई लाञ्छना लगाउँदै दिएका अभिव्यक्तिका बारेमा समेत प्रधानमन्त्रीसँग जवाफ मागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन ढंगले धरपकड गरियो, किन त्यस्तो भयो ? त्यसमा हाम्रो गम्भीररुपले चासो छ, यसमा सरकारले जवाफ दिनुपर्छ भनेर कुरा उठायौँ,’ बैठकपछि लेखकले भने, ‘त्यस्तै, केही दिन पहिले गृहमन्त्रीजीले प्रतिनिधिसभाको रोष्टममा उभिएर जुन ढंगले विषय प्रस्तुत हुनुभएको छ, नेपाली कांग्रेसका सांसदहरुलाई जसरी लाञ्छना लगाउने काम गर्नुभएको छ, त्यो विषय समेत सामान्य होइन, कि प्रमाणित गरेर कारबाही गर्नुपर्यो नभए त्यसको जवाफ दिनुपर्छ भनेका छौँ ।’
उनका अनुसार संसद्मा भएको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीको आह्वानमा बसेको बैठकमा सहकारीमा भएको ठगीका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा छलफल भएको छ ।
‘सहकारीबाट रकम अपचलन, हिनामिना र दुरुपयोग भएको कुरामा संसदीय छानबिन समिति बनाउने विषयमा पहिल्यै सहमति भइसकेको हो । त्यसलाई कसरी बनाउने भनेर कार्यदलमा साथीहरुले छलफल गरिरहनुभएको छ,’ उनले भने, ‘अब नमिलेको कुरालाई कसरी मिलाउने भनेर छलफल गर्नुपर्ने अवस्था हो । समग्रमा सबैले संसदीय समिति बनाएर टुंगोमा पुग्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ ।’



