७ जेठ, काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग गर्दै राँके जुलुस निकालेको छ ।
सोमबार साँझ काठमाडौंको बत्तीसपुतलीमा राँके जुलुस निकाल्दै गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने, गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन हुनुपर्ने लगायत माग गरेका हुन् ।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र पदम अर्याल भूमि व्यवस्था मन्त्री भएका बखत ऐन नै संशोधन गरेर गिरीबन्धु चिया बगानलाई प्लटिङ गर्ने इजाजत दिएको भन्दै युवा तथा विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन् ।
गिरीबन्धु चिया बगानको जग्गा किनबेचमा ठूलो गिरोह सक्रिय रहेको र लोभलालचमा परेर सर्वसाधारणको करोडौँ रकम डुबेको भन्दै घटनाको सत्यतथ्य छानबिनका लागि सरकारसँग माग गरिएको हो ।
उनीहरूले सहकारी अनियमितता प्रकरणमा फरार जबवी राईलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउन पनि माग गरेका छन् ।



