२८ बैशाख, काठमाडौं – नेपाली कांग्रेस सांसद तथा महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफैँले फारम भरेर सहकारीबाट ऋण लिएको प्रमाण प्रहरीले नै संकलन गरेको भन्दै त्यतिका प्रमाणहरु हुँदासमेत अभियोजन नभएकोबारे प्रश्न गरेका छन् ।
शुक्रवार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै थापाले गृहमन्त्री लामिछाने अनुसन्धानबाट भाग्न खोजिरहेको बताए । ‘यहाँ गृहमन्त्रीमाथि सहकारीको करोडौँ रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । तर कुनै अभियोजन भएको छैन । अनुसन्धानसम्म पनि भएको छैन । प्रधानमन्त्री आफैँ संसद्मा उभिएर झुट बोल्नुभएको छ । के यहाँ गृहमन्त्रीले आफैँ फारम भरेर सहकारीबाट ऋण लिएको प्रमाण पेस गरौँ ? कुन-कुन प्रमाणहरु पेस गरौँ ? यही कुरा हामीले संसदीय समितिबाट छानबिन गरौँ भनेका हौँ,’ थापाले अघि भने, ‘सरकार तपाईंहरु नै चलाउनुस् । तर छानबिन समिति बनाऔँ । तपाईंहरु नै नेतृत्व गर्नुहोस् । हामी पनि सँगै बसेर हेर्छौं । सत्यतथ्य छानबिनबाट बाहिर आउँछ ।’
उनले कांग्रेसले विगतमा सरकारलाई सहयोग पुग्ने गरी सदन सञ्चालन गर्न दिएको भन्दै अब संसदीय छानबिन समिति नबनेसम्म सदनका कुनै पनि कामकारबाही अगाडि बढ्न नदिने बताए ।
‘नेपाली कांग्रेस पार्टी सदन चल्नुपर्छ भन्ने कुरामा गम्भीर छ । सरकारलाई सजिलो होस् भनेर सघाउन खोजेको पनि हो । हामीले जम्मा एउटा कुरा भनेको हो-सहकारीको ठगीका विषयमा छानबिन गर्न संसदीय समिति बनाइयोस् । तर सरकारले यो कुरालाई टार्न खोजिरहेको छ,’ उनले भने, ‘आरोप लागेको व्यक्ति त छानबिन गर्न तयार हुनुपर्ने हो । तर यहाँ त छानबिनबाट भाग्न सम्पूर्ण शक्ति लगाइएको छ । किन डराएको ? गल्ती गरेको छैन भने छानबिनबाट किन भागेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ । कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ । महान्यायाधिवक्ताले कुनै पनि मुद्दामा कसैको प्रभावमा पर्नुहुँदैन भन्ने छ । तर अब महान्यायाधिवक्ता त झुक्दा-झुक्दा लम्पसार नै परिसक्नुभएको छ । प्रहरीको, महान्यायाधिवक्ताको, राज्यका अंगहरुको दुरुपयोग भइरहेको छ ।’
महामन्त्री थापाले सदन चल्न नसक्ने अवस्थाको जिम्मेवारी कांग्रेसले नलिने बताए । सरकारले गृहमन्त्रीमाथि लागेको आरोपको ढाकछोप गर्न सरकारले राज्यका अंगहरुलाई वासिङ मेसिन जस्तो प्रयोग गरेको उनको भनाइ छ ।



