२ बैशाख, काठमाडौं – सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आइतबार सांसद गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
यो आदेशसँगै सांसद गिरीको पद तत्कालका लागि पुनर्बहाली भएको छ ।
‘औचित्यपूर्ण कारण र आधारबिना निवेदिकालाई सुदूरपश्चिम प्रदेशको प्रदेशसभा सदस्यबाट फिर्ता बोलाउने गरी सूचना प्रकाशित गरेको देखिएको र सो काम कारबाहीबाट निवेदिकालाई जनताको प्रतिनिधित्व गर्ने कार्यमा समेत असर पुग्न जाने देखिएकाले प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म प्रदेशसभा सदस्यबाट फिर्ता बोलाउने गरी सूचना प्रकाशित गर्ने प्रदेशसभा सभामुखको मिति २०८०।१२।२६ को निर्णय निर्देशन तथा तत्सम्बन्धी पत्रहरुसमेत कार्यान्वयन नगर्नू, नगराउनू,’ आदेशमा भनिएको छ ।



