२ बैशाख, काठमाडौं – भक्तपुरको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत मध्यपुर थिमि–८ बोडेका २८ वर्षीय सुजन बाग श्रेष्ठले परम्परा अनुसार यस वर्षको बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेडाएका छन् ।
श्रेष्ठले दोस्रोपल्ट जिब्रो छेडाएका हुन् । बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ मा मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।
यसअघि उनका बाबु बुद्धकृष्ण बाग श्रेष्ठले नौपल्ट जिब्रो छेडाइसकेका छन् । सुजनले यसपटक पनि जिब्रो छेडाएर परम्परालाई निरन्तरता दिएका हुन् ।
दुई दशकभन्दा बढी जिब्रो छेड्ने जात्राको परम्परा सुजनकै परिवारले धानिसकेका छन् । सुजनका बुबा बुद्धकृष्णले ९ पल्ट, ठूलोबुबा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पल्ट जिब्रो छेडाएका थिए ।
जिब्रो छेड्ने जात्राको परम्परामा बोडेवासीमध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने मानिन्छ ।
तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिन्छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेड्दा रगत आउनु हुँदैन ।



