२ बैशाख, काठमाडौं – सरकारले पाँच जना सचिवहरुको सरुवा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।
शर्माका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश भट्टराई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् । महिला बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका तत्कालीन सचिव सुमनराज अर्याललाई भने युवा तथा खेलकुद मन्त्रालयमा सचिवको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा भएको छ । तथ्यांक कार्यालयका तत्कालीन सचिव तोयम रायलाई सरकारले केही साताअघि महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको थियो । त्यसपछि उनले सचिवबाट राजीनामा दिएका थिए ।
यसैगरी उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।



