१२ असोज, काठमाडौं — लगातार चार दिनदेखि भइरहेको वर्षा रोकिएको छ। पछिल्लो १२ घण्टामा केही स्थानमा छिटपुटदेखि हल्का वर्षा मात्र भएको छ।
सोमबार बिहान काठमाडौंलगायतका केही भूभागमा हुस्सु लागेको छ।
अब ठूलो वर्षा हुने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।
उनका अनुसार चार दिनसम्म ठूलो वर्षा गराउने प्रणाली अहिले भारतको उत्तर प्रदेश आसपास रहे पनि त्यसको प्रभाव कमजोर भइसकेको छ।
‘त्यस्तो असर गर्ने देखिँदैन। पश्चिमतिर चाहिँ अलि–अलि वर्षा हुन्छ। पहाडी भूभागमा पनि छ। तर अब ठूलो पानी पर्ने सम्भावना चाहिँ छैन,’ उनले भनिन्।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार सोमबार दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान छ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
सोमबार राति देशका हिमाली तथा पहाडी भूभागसँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बदली रहनेछ। बाँकी तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
राति पनि देशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।