Skip to main content

Epost Nepal

१५ औं महाधिवेशनको मिति पुनः तय गर्ने तयारीमा कांग्रेस

१३ असोज, काठमाडौं — नेपाली कांग्रेसले १५ औं महाधिवेशनको नयाँ मिति आज तय गर्ने तयारी गरेको छ।

केन्द्रीय कार्यालयको टिमको अनौपचारिक बैठक बसेर महाधिवेशनको नयाँ मिति तय गरिने कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन्।

ती पदाधिकारीले आज बिहान अनलाइनखबरसँग कुरा गर्दै महाधिवेशनको नयाँ मितिबारे छलफल भइरहेको र केन्द्रीय कार्यालयको टिमको बैठकबाट आजै मिति टुंगो लगाउने बताए।

कांग्रेसले यसअघि १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो। महाधिवेशनका लागि विभिन्न राजनीतिक दलका नेताहरुलाई निम्तोसमेत पठाइसकिएको छ।

तर, असोज ८ देखि ११ गतेसम्म लगातार परेको वर्षासँगै आएको बाढीपहिरोका कारण तल्लो तहका अधिवेशनहरु प्रभावित भएपछि महाधिवेशन केही दिन पछि सार्ने तयारी गरिएको हो।

दशैं, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गएकाले महाधिवेशन ती पर्वअघि गर्ने वा पछि सार्ने भन्ने विषयमा आज निर्णय हुने कांग्रेस संस्थापन पक्षका नेताहरुले बताएका छन्।

यद्यपि, कांग्रेसका अर्का एक नेताका अनुसार महाधिवेशन धेरै दिन पर सार्ने नभई एक–दुई दिन मात्र पछाडि धकेल्ने विषयमा पार्टीभित्र अनौपचारिक छलफल भइरहेको छ।

यसैबीच, संस्थापनइतर पक्षको शेरबहादुर देउवा समूहले पनि आगामी मंसिरमा छुट्टै १५ औं महाधिवेशन गर्ने भन्दै तयारी थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *