Skip to main content

Epost Nepal

अप्टिकल फाइबरमा क्षतिसँगै विभिन्न स्थानमा टेलिकम सेवा प्रभावित

११ असोज, काठमाडौं — निरन्तरको वर्षा, हावाहुरी, बाढी र पहिरोका कारण नेपाल टेलिकमको दूरसञ्चार सेवा विभिन्न स्थानमा प्रभावित भएको छ।

नेपाल टेलिकमका अनुसार २०८३ असोज ८ गतेदेखि जारी वर्षा र हावाहुरीका कारण देशका विभिन्न स्थानमा दूरसञ्चार सेवा अवरुद्ध भएको हो।

भारी वर्षा र पहिरोका कारण प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भएको तथा अप्टिकल फाइबरमा क्षति पुगेको टेलिकमले जनाएको छ।

त्यस्तै, विद्युत् आपूर्तिमा आएको अवरोध तथा हिमपात, वर्षा र बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा पनि सेवा सञ्चालनमा समस्या देखिएको कम्पनीले जनाएको छ।

टेलिकमका अनुसार प्राविधिक रूपमा सिस्टमबाट गर्न सकिने मर्मतसम्भारका काम जारी छन्। सम्भव भएका स्थानमा सेवाको मर्मतकार्यसमेत भइरहेको कम्पनीले जनाएको छ।

मौसममा सुधार आएपछि प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको टेलिकमको भनाइ छ।

सेवा अवरुद्ध हुँदा ग्राहकमा परेको असुविधाप्रति नेपाल टेलिकमले क्षमायाचना गरेको छ। साथै, बाढी, पहिरो र निरन्तर वर्षाका कारण उत्पन्न कठिन परिस्थितिमा समेत धैर्यता देखाएको भन्दै कम्पनीले ग्राहकप्रति आभार व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *