१२ असोज, काठमाडौं — ललितपुर महानगरपालिका–२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ।
ललितपुर प्रहरीका प्रवक्ता गौतम मिश्रका अनुसार सोवितकुमार थापाको साढे दुई तले घर सोमबार बिहान करिब ६ बजेर ३५ मिनेटमा ढलेको हो।
घर जोखिममा रहेको भन्दै घरधनीलाई अघिल्लो दिन नै घर खाली गर्न आग्रह गरिएकाले घटनामा मानवीय क्षति नभएको उनले बताए। उक्त घरमा थापासहित तीन जनाको परिवार बस्दै आएको थियो।
अविरल वर्षाका कारण जमिन गलेपछि भिरालो सतहमा निर्माण गरिएको घर ढलेको प्रहरी प्रवक्ता मिश्रले बताए।
घर ढलेपछि घरमुनि रहेको खोल्सोसमेत थुनिएको प्रहरीले जनाएको छ।
