३२ असार, काठमाडौं — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई ६० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्यकर्मीसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित कर्मचारीलाई १५ दिनभित्र आफ्नो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार ती स्वास्थ्यकर्मी नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ (१) को खण्ड (ज) विपरीत बिदा स्वीकृत नगरी लगातार ६० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेको भेटिएको छ।
यही आधारमा ऐनको दफा ७२ को खण्ड (ब) उपखण्ड (१) अनुसार भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने भन्ने विषयमा उनीहरूसँग स्पष्टीकरण मागिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले तोकिएको १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण प्राप्त नभए कानुनअनुसार विभागीय कारबाही प्रक्रिया अघि बढाइने पनि स्पष्ट गरेको छ।
स्पष्टीकरण सोधिएका स्वास्थ्यकर्मीमध्ये अधिकांश चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), कान्ति बाल अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सिङ कर्मचारी रहेका छन्।
सूचीमा रेडियोलोजिस्ट, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट, मेडिकल अधिकृत, वरिष्ठ कन्सल्टेन्ट, पेडियाट्रिक सर्जन, स्टाफ नर्स, अस्पताल नर्सिङ निरीक्षक तथा मेडिकल ल्याब टेक्नोलोजिस्टलगायत विभिन्न पदका स्वास्थ्यकर्मी समावेश छन्।
मन्त्रालयका अनुसार वीर अस्पतालका १३ जना, कान्ति बाल अस्पतालका ६ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका २ जना, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरका १ जना र आयुर्वेद चिकित्सालय नरदेवीका १ जना गरी कुल २३ जना स्वास्थ्यकर्मीसँग स्पष्टीकरण मागिएको हो।